काठमाडौं, माघ २४ - चर्चित लोकगीत 'सिमसिमे पानीमा...' की गायिका रेखा शाह आधुनिक गायनतिरको यात्रामा छिन् । गतवर्ष 'द लाइन' (रेखा) नामक आधुनिक एल्बम निकालेकी उनले हालै अर्को आधुनिक एल्बम ल्याएकी छन्- 'स्मृति' ।गायिका बन्ने सपना बोकेर धादिङको रातमाटेबाट राजधानी पस्दा उनी १५ वर्षकी मात्र थिइन् । 'खासमा म आधुनिक गायिका बन्ने सपना बोकेर सहर आएकी थिएँ,' आइतबार कुराकानी क्रममा उनले भनिन्, 'संयोगले लोकगीततिर पसें ।'यो झन्डै १८ वर्षअघिको कुरो हो । गाउँबाट आएपछि उनी सीधै रेडियो नेपाल गइन्, आधुनिक गीतको स्वर परीक्षाका लागि । तर विडम्बना, र्फम बन्द भइसकेको थियो । 'त्यहीबेला लोकगीत तियोगिताको आवेदन खुलेको रहेछ,' उनले सम्झिन्, 'यो पनि राम्रै हो भनेर र्फम भरें ।' राम्रो मात्र हैन, त्यही प्रतियोगिताले रेखालाई 'सिमसिमे पानीमा...' गायिकाको परिचयमा एकाएक चर्चामा ल्याइदियो । उनकै शब्द र लय संकलन रहेको यही गीत प्रतियोगितमा अब्बल ठहरियो र पछि प्रेमराजा महतसँग मिलेर रेखाले 'सिमसिमे पानीमा...' नामक लोकदोहोरी एल्बम नै निकालिन् ।
लामो समय रेखाको डेब्यु गीतले चर्चा पाइरह्यो । यसबीच रेखाले 'साली-भेना', सुनको चरा' लगायत आधा दर्जन लोकदोहोरी एल्बममा गाइन् र 'मनपर्ने एउटी साली छ...' लगायतका गीतले चर्चा पनि पायो । यहीबेला उनी मुटुको रोगबाट थलिइन् । 'लामो समय ग्याप बस्नुपर्यो नि,' मुटुको धड्कन छिटो चल्ने समस्या खेपिरहेकी उनले भनिन्, 'दिल्ली र बैंककमा उपचारपछि केही ठीक भएको छ । आराम गरिरहेकी छु ।'
बिरामीकै बीचमा पनि उनी चुप बसिनन् । उनलाई आधुनिक गायिका बन्नु थियो । त्यही भएर संगीतकार गुरुदेव कामतकहाँ धाउन थालिन् र लगभग चार वर्ष सिकिन् । 'दुइटा आधुनिक एल्बम उहाँकै आर्शिवाद हो,' रेखाले भनिन्, 'अब आधुनिकतिरै लाग्न चाहन्छु ।'
अहिलेको लोकदोहोरी गीतहरु 'टिपिकल' भन्दा पनि 'कर्मसियल' बन्दै गएकाले पनि उनको मन आधुनिकतिर गएको हो । धादिङ रातामाटेको घना मगरबस्तीबीच हुर्केकी रेखा 'सिमसिमे पानीमा...' गाउँदाको बेला र अहिलेको लोकदोहोरीको बजार र स्वाद आकाश-पातालको भिन्नता रहेको दाबी गर्छिन् । 'सिमसिमे पानीमा...' गाउँदा उनले धादिङ आसपासको समाजमा चलेको भाका टिपेकी थिइन्, अहिले धेरैले कोठामै बसेर लोकगीत र लय कम्पोज गर्छन् ।
'सिमसिमे पानीमा जस्तै टिपिकल गीत पाए गाउँछु पनि,' रेखाले भनिन्, 'कमर्सियल लोकगीतमा रुचि छैन ।' 'सिमसिमे पानीमा रेखा' नामक रिमेक एल्बमसमेत निकालेकी उनले सानैदेखि अरुणा लामा, नारायणगोपाल, तारादेवीका गीत सुन्दै हुर्केकीले पनि त्यस्तै स्वादका गीततिर मन बसेको उनले बताइन् । पछिल्लो एल्बम 'स्मृति' मा उनी धेरै नोस्टाल्जिक भएकी छन् र प्रायः गीत बितेको क्षणको स्मृतिमा केन्दि्रत छन् । 'अब निरन्तर आधुनिक गीति साधनातिरै लाग्छु,' सोमबार वर्थ डे मनाउने तयारी गरिरहेकी रेखाले भनिन्, 'हेर्दै जाऊँ ।' साभार: इकान्तिपुर
